गत शुक्रबारदेखि प्रदर्शनमा आएको फिल्म ‘रोल नं १’ ले बक्सअफिसमा उत्साहजनक गति समातेको छ। प्रदर्शनको सुरुवातदेखि नै सकारात्मक प्रतिक्रिया पाएको फिल्म अहिले बलियो ‘वर्ड अफ माउथ’को भरमा दर्शक तान्न सफल भइरहेको छ।

देशभरका विभिन्न हलमा फिल्मका शोहरू प्रदर्शन हुनुभन्दा २४ घण्टा अगावै हाउसफूल हुन थालेका छन् भने कतिपय शोहरू ‘फिलिङ फास्ट’ अवस्थामा पुगेका छन्। विशेषगरी विद्यार्थी, अभिभावक र शिक्षक वर्गबाट फिल्मले उल्लेखनीय साथ पाएको देखिएको छ।

बालबालिका र शिक्षासँग जोडिएको कथावस्तु भएकाले धेरै विद्यालयहरूले आफ्ना विद्यार्थीलाई फिल्म देखाउन पूरै शो नै बुक गर्न थालेका छन्। यही कारण बुधबारका केही शोहरू मंगलबार नै भरिएका थिए। निर्माता विनोद पौडेलका अनुसार दर्शकको सकारात्मक प्रतिक्रिया नै फिल्मको सबैभन्दा ठूलो शक्ति बनेको छ।

दर्शकहरूले ‘रोल नं १’ लाई विद्यार्थी, शिक्षक र अभिभावकले एकपटक अवश्य हेर्नुपर्ने फिल्मका रूपमा सिफारिस गर्न थालेपछि नयाँ दर्शकको आकर्षण थप बढिरहेको निर्माण पक्षको दाबी छ।

सेभेन सिज सिनेमाको ब्यानरमा बनेको फिल्मलाई जोन योञ्जनले निर्देशन गरेका हुन्। महेश दवाडीको लेखन रहेको फिल्ममा मुकुन भुसाल, सुशांक मैनाली, रेणु नाथ योगी, एवन राज उप्रेती र सिर्जना अधिकारीको मुख्य भूमिका छ। बालकलाकार निर्भिक रेग्मी, रिन्चेन लामा, संयम कटुवाल र सिजल श्रेष्ठको अभिनयले पनि दर्शकको प्रशंसा बटुलिरहेको छ।

बलियो कथावस्तु र सकारात्मक प्रतिक्रिया सँगै ‘रोल नं १’ अहिले नेपाली बक्सअफिसमा चर्चाको केन्द्र बनेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय