काठमाडौं । ‘छैटौँ नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव–२०८३’ विभिन्न ११ विधामा अवार्ड वितरण गर्दै सम्पन्न भएको छ। नेपाल आदिवासी जनजाति चलचित्र महासङ्घ सङ्घीय परिषद्ले चलचित्र विकास बोर्ड र आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानको सहकार्यमा आयोजना गरेको तीनदिने महोत्सव मङ्गलबार सम्पन्न भएको हो।

महोत्सवमा गुरुङ चलचित्र ‘ङोल्स्यो रामरानी’ उत्कृष्ट चलचित्र घोषित भयो भने सोही चलचित्रका लेखक विवेक गुरुङले उत्कृष्ट स्क्रिप्ट (लखन अवार्ड) प्राप्त गरे। लिम्बू चलचित्र ‘रीत’ले पब्लिक च्वाइस अवार्ड जित्यो भने यसको निर्देशक दिनेश लिङ्देन उत्कृष्ट निर्देशक घोषित भए।

मगर चलचित्र ‘दिलसरा’का कल्याण रानामगर उत्कृष्ट अभिनेता तथा नेवारी चलचित्र ‘स्वयनगु’की भिन्तुना श्रेष्ठ उत्कृष्ट अभिनेत्री चुनिए। तामाङ चलचित्र ‘ह्याङ तामाङ’का सूर्य लामा ले उत्कृष्ट छायाङ्कन अवार्ड प्राप्त गरे।

चाबहिलस्थित चलचित्र विकास बोर्ड मा आयोजित महोत्सवमा लिम्बू, नेवारी, गुरुङ, तामाङ, मगर, भुजेल, माझी र राजवंशी समुदायका कथानक चलचित्र, लघु चलचित्र, वृत्तचित्र तथा एआई–निर्मित वृत्तचित्र प्रदर्शन गरिएका थिए। साथै सांस्कृतिक झाँकी, अन्तरक्रिया र विभिन्न जातीय परिकारका स्टल पनि आकर्षणका केन्द्र बनेका थिए।

महोत्सव निर्देशक सागर केरुङ ले महोत्सवले आदिवासी जनजाति समुदायको भाषा, इतिहास, संस्कृति र पहिचानलाई प्रवर्द्धन गर्ने महत्वपूर्ण मञ्चका रूपमा काम गरेको बताए। उनले आदिवासी चलचित्रलाई मनोरञ्जन मात्र नभई सांस्कृतिक प्रतिनिधित्व र अस्तित्वसँग जोडिएको माध्यमका रूपमा हेर्नुपर्ने धारणा व्यक्त गरे।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय