काठमाडौं । ललितकला क्याम्पस र रामचन्द्र मन्दिरको संयुक्त आयोजनामा आगामी जेठ ३० गतेदेखि पाँचदिने अन्तर्राष्ट्रिय संगीत महोत्सव आयोजना हुने भएको छ। संगीत शिक्षा, प्रविधि, बौद्धिक सम्पत्ति अधिकार तथा पर्यटन प्रवर्द्धनमा संगीतको भूमिकाजस्ता विषयलाई केन्द्रमा राखेर महोत्सव सञ्चालन गर्न लागिएको आयोजकले जनाएको छ।
महोत्सवमा नेपालसहित विभिन्न देशका संगीतकर्मी, प्राध्यापक, अनुसन्धानकर्ता तथा सांस्कृतिक क्षेत्रका प्रतिनिधिहरूको सहभागिता रहने अपेक्षा गरिएको छ। कार्यक्रमअन्तर्गत अन्तरक्रियात्मक छलफल, प्रस्तुति, अनुभव आदानप्रदान तथा सांगीतिक कार्यक्रमहरू समेत समावेश गरिने बताइएको छ।
विशेषगरी संगीत शिक्षामा कृत्रिम बुद्धिमत्ता (एआई) को प्रयोग, यसले सिर्जना गर्ने अवसर र चुनौती, डिजिटल युगमा कलाकारको अधिकार संरक्षण, बौद्धिक सम्पत्ति व्यवस्थापन तथा सांस्कृतिक पर्यटन विकासमा संगीतको योगदानबारे विस्तृत बहस हुने आयोजकको भनाइ छ।
ललितकला क्याम्पसका संगीत विभाग प्रमुख कृष्ण खरेल का अनुसार नेपालमा यति व्यापक विषयवस्तु समेटेर अन्तर्राष्ट्रिय स्तरको संगीत महोत्सव आयोजना हुन लागेको सम्भवतः पहिलो अवसर हो। उनले महोत्सवले संगीत क्षेत्रलाई समकालीन प्रविधिसँग जोड्दै नयाँ ज्ञान, अनुसन्धान र सहकार्यका सम्भावना विस्तार गर्ने विश्वास व्यक्त गरे।
आयोजकका अनुसार महोत्सवले नेपाली संगीत तथा सांस्कृतिक सम्पदालाई अन्तर्राष्ट्रिय समुदायमाझ प्रवर्द्धन गर्न सहयोग पुर्याउनुका साथै संगीत क्षेत्रका विद्यार्थी, शिक्षक र पेशागत कलाकारहरूलाई नयाँ दृष्टिकोण प्रदान गर्ने अपेक्षा गरिएको छ।







