अभिनेत्री प्रियंका कार्की का लागि सन् २०२६ विशेष बन्ने देखिएको छ। लगातार दुई महत्त्वाकांक्षी फिल्म प्रदर्शनको तयारीमा रहेकाले उनी यतिबेला नेपाली चलचित्र वृत्तमा चर्चाको केन्द्रमा छिन्।
भारतीय बंगाली निर्देशक सुवेन्दु घोष निर्देशित फिल्म ‘आई एम जीतबहादुर’ आगामी जुन १९ मा विश्वभर प्रदर्शन हुँदैछ। फिल्ममा प्रियंकासँगै अभिनेता तथा हास्यकलाकार जीतु नेपाल मुख्य भूमिकामा छन्। गाउँबाट कलाकार बन्ने सपना बोकेर राजधानी पुगेका एक साधारण युवाको संघर्ष, सपना र सफलताको यात्रामा आधारित फिल्मले भावनात्मक तथा प्रेरणादायी कथा प्रस्तुत गर्ने अपेक्षा गरिएको छ।
यसैबीच प्रियंका आफ्नो निर्माण डेब्यु फिल्म ‘मास्टर्नी’ का कारण पनि उत्तिकै उत्साहित छिन्। पति आयुष्मान देशराज जोशी सँगको सहकार्यमा निर्माण गरिएको फिल्मको मुख्य छायांकन सम्पन्न भइसकेको छ। आगामी अगस्ट २८ मा विश्वव्यापी प्रदर्शनको तयारीमा रहेको यो फिल्म प्रियंकाको अभिनेत्रीबाट निर्माता बनेको यात्राको महत्त्वपूर्ण अध्याय मानिएको छ।
एकातर्फ अभिनयमा नयाँ चुनौतीपूर्ण भूमिका र अर्कोतर्फ निर्माणको जिम्मेवारी सम्हालिरहेकी प्रियंकाका लागि २०२६ करिअरको टर्निङ प्वाइन्ट बन्न सक्ने अनुमान गरिएको छ। दुई महिनाको अन्तरमा रिलिज हुन लागेका यी दुई फिल्मले उनको स्टारडमलाई थप उचाइमा पुर्याउने अपेक्षा गरिएको छ। दर्शकमाझ समेत ‘आई एम जीतबहादुर’ र ‘मास्टर्नी’ प्रति चासो बढ्दै गएको छ, जसले प्रियंकालाई वर्षकै चर्चित अभिनेत्रीमध्ये एक बनाउने संकेत देखिएको छ।







