कालिकास्थानस्थित नेपालयको ‘आर’ शालामा आयोजित लोकप्रिय सांगीतिक शृंखला ‘पलेँटी’मा गीतकार शिवशंकर थापाका चर्चित गीतहरू गुञ्जिएका छन्।
कार्यक्रममा थापाले आफ्ना गीतहरूको सिर्जना प्रक्रिया, रचनागर्भ तथा ती गीतसँग जोडिएका व्यक्तिगत अनुभूतिहरू दर्शकमाझ साझा गरेका थिए। उनका अनुभव र संस्मरणले कार्यक्रममा उपस्थित दर्शकलाई भावुक बनाउनुका साथै मनोरञ्जनसमेत प्रदान गरेको थियो।
साँझभरि नयाँ तथा पुराना गीतहरूको साङ्गीतिक प्रस्तुति गरिएको थियो। प्रस्तुतीका क्रममा थापाका चर्चित सिर्जनाहरू गाइँदा दर्शकहरूले पनि साथ दिएका थिए। कार्यक्रममा गीतकारका जीवनका रोचक, संघर्षपूर्ण र मार्मिक क्षणहरूबारे समेत चर्चा गरिएको थियो।
पलेँटी शृंखलाले नेपाली गीत–सङ्गीतका स्रष्टा र दर्शकबीच प्रत्यक्ष संवादको अवसर प्रदान गर्दै आएको छ। यसपटकको कार्यक्रममा शिवशंकर थापाका गीत र अनुभवले नेपाली संगीतप्रेमीलाई विशेष सांगीतिक अनुभूति दिलाएको आयोजकले जनाएको छ







