रोल्पा । लामो समयदेखि चलचित्र हलविहीन रहेको रोल्पामा पहिलोपटक ठूलो पर्दामा नेपाली चलचित्र प्रदर्शन भएपछि जिल्लावासी उत्साहित बनेका छन् । देशभर जेठ ८ गतेदेखि प्रदर्शनमा आएको नेपाली चलचित्र मितज्यू ले रोल्पामा नयाँ इतिहास रचेको छ ।
जिल्ला सदरमुकाम लिबाङमा अस्थायी चलचित्र हल निर्माण गरी शुक्रबारदेखि फिल्म प्रदर्शन सुरु गरिएको हो । रोल्पा नगरपालिका–४ टुडिखेलस्थित जिल्ला समन्वय समितिको हललाई अस्थायी सिनेमा हलमा रूपान्तरण गरेर चलचित्र देखाउन थालिएको हो । पहिलो दिनदेखि नै दर्शकको बाक्लो उपस्थिति देखिएको आयोजकले बताएका छन् ।
सन स्टार युवा क्लबको समन्वयमा गरिएको प्रदर्शनले रोल्पाली नागरिकमा छुट्टै उत्साह थपेको छ । क्लबका सचिव तेकेन्द्र सेनका अनुसार रोल्पामा पहिलोपटक औपचारिक रूपमा चलचित्र प्रदर्शन गरिएको हो । उनले दर्शकको माग उच्च रहेकाले प्रदर्शन अवधि थपिन सक्ने संकेतसमेत दिए
यसअघि रोल्पाका नागरिकले चलचित्र हेर्न दाङ, बुटवल वा नेपालगञ्जसम्म यात्रा गर्नुपर्ने बाध्यता थियो । तर अहिले आफ्नै जिल्लामै फिल्म प्रदर्शन भएपछि स्थानीयले यसलाई “रोल्पाको सांस्कृतिक उत्सव”को रूपमा लिन थालेका छन् ।
निर्माता जनक घर्तीमगर को निर्माण रहेको ‘मितज्यू’ ग्रामीण भेगमा जिप चालकको संघर्ष, सम्बन्ध र शान्ति प्रक्रियापछिको रोल्पाको जनजीवनमा आधारित चलचित्र हो । चलचित्रको निर्देशन अनिल बुढामगर ले गरेका हुन् ।
फिल्मको करिब ७५ प्रतिशत छायांकन रोल्पाका विभिन्न स्थानमा गरिएको छ भने बाँकी दृश्य दाङमा खिचिएको निर्माण पक्षले जनाएको छ । यही कारण पनि रोल्पाली दर्शकमाझ चलचित्रप्रति विशेष आकर्षण देखिएको छ ।
रोल्पामा पहिलोपटक सुरु भएको यो चलचित्र प्रदर्शनले अब जिल्लामा स्थायी सिनेमा हल निर्माणको बहससमेत सुरु गराएको छ ।







