चलचित्र पत्रकार संघ नेपालको आयोजनामा २७औँ वार्षिकोत्सव तथा राष्ट्रिय चलचित्र पत्रकारिता दिवस भव्यता र गरिमामय वातावरणमा सम्पन्न भएको छ। कार्यक्रममा चलचित्र क्षेत्रका कलाकार, पत्रकार, निर्माता, निर्देशक तथा विभिन्न संघ–संस्थाका प्रतिनिधिहरूको उल्लेख्य उपस्थिति रहेको थियो। पञ्चेबाजासहित अतिथि तथा सम्मानित व्यक्तित्वहरूको स्वागत गरिएको कार्यक्रममा सांस्कृतिक तथा सांगीतिक प्रस्तुतीले विशेष आकर्षण थपेको थियो।

कार्यक्रमका अध्यक्ष समीर बलामी ले चलचित्र पत्रकारितालाई अझ संगठित, मर्यादित र जिम्मेवार बनाउँदै लैजानुपर्नेमा जोड दिँदै संघलाई थप सशक्त र क्रियाशील बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो।

प्रमुख अतिथि दिनेश डीसी ले नेपाली चलचित्र पत्रकारिता क्रमशः व्यवस्थित र संगठित हुँदै गएको उल्लेख गर्दै चलचित्र प्रवर्द्धनमा पत्रकारिताको भूमिका अतुलनीय रहेको बताउनुभयो। उहाँले पत्रकारितामा अनुशासन, मर्यादा र नैतिकतालाई थप मजबुत बनाउन आवश्यक रहेको धारणा राख्दै आधारहीन विषयलाई प्राथमिकता दिने प्रवृत्तिबाट जोगिन आग्रह गर्नुभयो।

विशेष अतिथि करिष्मा मानन्धर ले चलचित्र र पत्रकारिता क्षेत्र एकअर्काका परिपूरक भएको उल्लेख गर्दै चलचित्रलाई दर्शकमाझ पुर्‍याउने प्रमुख माध्यम पत्रकारिता नै भएको बताउनुभयो। कलाकार र पत्रकारबीचको सहकार्य अझ सुदृढ हुनुपर्ने उहाँको भनाइ थियो।

त्यसैगरी, राजेश हमाल ले चलचित्र र पत्रकारिता क्षेत्रबीच गहिरो सम्बन्ध रहेको बताउँदै समयसँगै दुवै क्षेत्रले उल्लेखनीय विकास गरेको उल्लेख गर्नुभयो। उहाँले ‘क्लिक कल्चर’ र प्रविधिका चुनौतीबीच तथ्यपरक, जिम्मेवार र गम्भीर पत्रकारिताको आवश्यकता अझ बढेको धारणा व्यक्त गर्नुभयो।

यस अवसरमा चलचित्र पत्रकारिता क्षेत्रमा योगदान पुर्‍याउने विभिन्न व्यक्तित्वहरूलाई सम्मान तथा पुरस्कार प्रदान गरिएको थियो। राष्ट्रिय चलचित्र पत्रकारिता रजत सम्मान–२०८३ अन्तर्गत नगद रु. ५५ हजार ५ सय ५५ सहित अनन्त वाग्ले लाई सम्मान गरिएको थियो। राष्ट्रिय चलचित्र पत्रकारिता सम्मान–२०८३ जयन सुब्बा मानन्धर तथा कुबेरराज गिरी लाई प्रदान गरिएको थियो।

त्यसैगरी, राष्ट्रिय चलचित्र पत्रकारिता पुरस्कार–२०८३ अन्तर्गत नगद रु. ५१ हजारसहित वैकुण्ठराज पराजुली लाई पुरस्कृत गरिएको थियो भने स्वर्गीय दिनेश सिटौला स्मृति राष्ट्रिय चलचित्र पत्रकारिता पुरस्कार–२०८३ अन्तर्गत नगद रु. ५१ हजारसहित सुरक्षा भट्टराई लाई सम्मान गरिएको थियो। राष्ट्रिय चलचित्र पत्रकारिता प्रोत्साहन सम्मान–२०८३ अन्तर्गत नगद रु. २५ हजारसहित मिलन ढुंगाना लाई सम्मान गरिएको थियो। साथै, स्वर्गीय दिनेश सिटौला प्रति मरणोपरान्त विशेष सम्मान अर्पण गरिएको थियो।

कार्यक्रममा संस्थापक अध्यक्ष भरत शाक्य सहित संस्थापकहरूप्रति सम्मान तथा स्मरण व्यक्त गरिएको थियो भने निवर्तमान अध्यक्ष स्वर्गीय दिनेश सिटौलाप्रति श्रद्धाञ्जली अर्पण गरिएको थियो। सहभागीहरूले चलचित्र पत्रकारिता दिवस चलचित्र पत्रकारिता, सम्मान र सहकार्यलाई थप सुदृढ बनाउने साझा मञ्चका रूपमा स्थापित भएको बताएका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय