नेपालकी चर्चित अभिनेत्री तथा मोडल उरुषा पाण्डे अन्तर्राष्ट्रिय स्तरमा नेपालको प्रतिनिधित्व गर्दै गिनिज वर्ल्ड रेकर्ड बनाउने तयारीमा जुटेकी छन्। एक समय नेपालमा ‘एक्सप्रेसन क्विन’को रूपमा चर्चित उरुषा अहिले अमेरिकामा अध्ययनसँगै अभिनय, निर्देशन र सिर्जनात्मक क्षेत्रमा सक्रिय छिन्।
हाल अमेरिकाको गोशेन कलेजमा फिल्म र थियटर अध्ययनरत उरुषाले ४.० जीपीए कायम राख्दै ‘डिन्स लिस्ट’मा स्थान बनाउन सफल भएकी छन्। नेपालबाट म्युजिक भिडियोमार्फत करियर सुरु गरेकी उनले पछि मुम्बईमा मोडलिङ र विज्ञापन क्षेत्रमा पनि काम गरेकी थिइन्। उनी नेपाल र भारतका चर्चित म्यागजिनहरूको आवरणमा समेत प्रकाशित भइसकेकी छन्।
अमेरिकामा पनि उनले अभिनय यात्रा निरन्तर अघि बढाइरहेकी छन्। विलियम सेक्सपियरको चर्चित नाटक Romeo and Juliet मा ५० प्रतिस्पर्धीबीचबाट ‘जुलियट’ भूमिकाका लागि छनोट हुन सफल उरुषाले विभिन्न नाटकमा उत्कृष्ट अभिनय गर्दै प्रशंसा कमाएकी छन्।
उरुषाले सन् २०२६ मे महिनादेखि ‘गिनिज वर्ल्ड रेकर्ड सिरिज’ अभियान सुरु गर्ने घोषणा गरेकी छन्। यसअन्तर्गत उनले २४ घण्टामा ३०० मोनोलग प्रस्तुत गर्ने, ‘कलाकार’ नामक एकल नाटक लगातार धेरै दिनसम्म मञ्चन गर्ने, सबैभन्दा लामो भारतीय शैलीको नृत्य गर्ने तथा ‘सेल्फी च्यालेन्ज’मार्फत Akshay Kumar को रेकर्डलाई चुनौती दिने योजना बनाएकी छन्।
उनको अभियान सफल भएमा हलिउड अभिनेता Doug Jones ले आधिकारिक प्रमाणपत्र हस्तान्तरण गर्ने अपेक्षा गरिएको छ। उरुषाले नेपाली युवतीहरूले पनि विश्व मञ्चमा आफ्नो क्षमता प्रमाणित गर्न सक्छन् भन्ने सन्देश दिन चाहेको बताएकी छन्।







