काठमाडौँ । नेपाली चर्चित ब्यान्ड नेपथ्यले न्युजिल्यान्डको अकल्यान्डस्थित ‘ड्यु ड्रप इभेन्ट्स सेन्टर’मा भव्य सांगीतिक प्रस्तुति दिएको छ । दुई हजारभन्दा बढी दर्शकको उपस्थितिमा सम्पन्न कन्सर्ट नेपाली समुदायका लागि अविस्मरणीय बनेको छ ।
झण्डै एक दशकपछि न्युजिल्यान्ड पुगेको नेपथ्यको कन्सर्ट हेर्न बेलुकी नहुँदै दर्शकहरूको भीड हलमा जुट्न थालेको थियो । कार्यक्रम सुरु हुनुअघि नै हल भरिभराउ बनेको थियो । कन्सर्टमा नेपथ्यले आफ्नो चर्चित गीत ‘कोशीको पानी यो जिन्दगानी’ बाट प्रस्तुति सुरु गरेको थियो । गायक अमृत गुरुङले ‘तपाईंहरू माया गर्नुहुन्छ र हामी आइपुग्छौँ’ भन्दै दर्शकसँग संवाद गर्दा हलभरि ताली र हुटिङ गुञ्जिएको थियो ।
कन्सर्टमा सहभागी दर्शकहरू नेपथ्यको प्रस्तुति हेरेर निकै भावुक बनेका थिए । हेमिल्टनबाट डेढ घण्टा यात्रा गरेर कार्यक्रम हेर्न पुगेकी इलिन तुराङ्गाले आफूले आजसम्म हेरेका नेपाली कार्यक्रममध्ये यो सबैभन्दा उत्कृष्ट रहेको प्रतिक्रिया दिइन् । उनले नेपथ्यको संगीत, प्रस्तुति शैली र गायक अमृत गुरुङप्रति दर्शकले देखाएको सम्मानले आफू निकै प्रभावित भएको बताइन् ।
१५ वर्षदेखि न्युजिल्यान्डमा बस्दै आएका दीपक पाण्डे पनि कन्सर्टकै लागि क्राइस्टचर्चबाट हवाई यात्रा गरेर अकल्यान्ड पुगेका थिए । उनले नेपथ्यका गीत सुन्दा केही समयका लागि नेपालमै पुगेको अनुभूति भएको बताए ।
नेपथ्यले लोक संगीतलाई आधुनिक रक शैलीसँग जोडेर प्रस्तुत गर्ने आफ्नो पहिचानलाई यस कन्सर्टमा पनि कायम राखेको थियो । आधुनिक ध्वनि प्रणाली, आकर्षक लाइटिङ र पृष्ठभूमिमा देखाइएका दृश्यहरूले प्रस्तुति अझ प्रभावशाली बनेको दर्शकहरूको भनाइ थियो ।
कन्सर्टको प्राविधिक व्यवस्थापनमा संलग्न न्युजिल्यान्डका ग्रान्ट सिभिलिचले नेपथ्यको प्रस्तुति निकै व्यावसायिक र स्तरीय रहेको प्रतिक्रिया दिए । उनका अनुसार आवाज, लाइट र भिडियो प्रस्तुतीकरणको संयोजनले कार्यक्रमलाई अन्तर्राष्ट्रिय स्तरको बनाएको थियो ।
न्युजिल्यान्डमै बसोबास गर्दै आएका नेपाली दर्शकहरूले परिवारसहित कन्सर्टमा सहभागी भएर नेपथ्यका गीतमा रमाएका थिए । २६ वर्षदेखि न्युजिल्यान्डमा रहेका वेदेन्द्र अधिकारीले नेपथ्यको प्रत्येक कन्सर्ट पहिलेभन्दा अझ रमाइलो हुने बताए । त्यस्तै, राज महर्जनले आफ्ना छोराछोरी समेत नेपथ्यको प्रस्तुति हेरेर निकै उत्साहित भएको प्रतिक्रिया दिए ।
स्थानीय आयोजक लाखे इभेन्ट्सका रोजन भट्टराईले महिनौँको तयारीपछि कन्सर्ट सफलतापूर्वक सम्पन्न भएको बताए । अकल्यान्ड कन्सर्टका फ्लोर टिकट कार्यक्रमअघि नै ‘सोल्ड आउट’ भएका थिए भने सीमित सिट मात्र अन्तिम समयसम्म उपलब्ध थिए ।
मञ्चमा गायक अमृत गुरुङलाई ड्रमसेटमा ध्रुव लामा, बेस गितारमा सुविन शाक्य, गितारमा नीरज गुरुङ, मादलमा शान्ति रायमाझी र किबोर्डमा दिनेशराज रेग्मीले साथ दिएका थिए ।
यसपटकको न्युजिल्यान्ड यात्रा अन्तर्गतको एकमात्र कन्सर्ट सम्पन्न गरेपछि नेपथ्य टोली अब स्वदेश फर्कने तयारीमा लागेको छ।







